NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्राकृतिक विपद्धमा परेर नेपालमा एक सय बढीको मृत्यु, त्रिशुलीमा दुई यात्रुबस बेपत्ता !

nepaltube

काठमाडौं । पूर्वी नेपाल भएर गत जेठ २८ मा भित्रिएको मनसुनी वर्षपछिको बाढी, पहिरो र डुबानमा परेर असार २८ गते बिहान ८ बजेसम्म देशभर १ सय १ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार मनसुनी विपद्‌मा १०८ जना घाइते भएका छन्।

बाढी र पहिरोमा परेर ६ जना हराइरहेका छन् । प्रहरीको रेकर्ड अनुसार काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको छ । अहिलेसम्म बाढीबाट २७, पहिरोमा परी ५० र चट्याङबाट २३ जनाको ज्यान गएको पाइएको छ । अविरल वर्षाकै कारण कोशी र बागमती प्रदेशका दुई÷दुई तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷एक जना हराइरहेका छन् ।

यता, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोमा परी दुईवटा यात्रुबस त्रिशूली नदीमा बेपत्ता भएका छन । काठमाण्डौबाट रौतहटको गौरको लागि चालक, सहचालकसहित २९ जना बोकेर छुटेको गणपति डिलक्सको ०००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट चालकसहित २४ यात्रु लिएर काठमाडौंका लागि छुटेको प्रदेश ०३००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गोताखोर परिचालन गरेर खोजि कार्य भैरहेको छ । बेपत्ता भएका गाडीबाट हाम्फालेर ४ जनाले ज्यान जोगाएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार