आज संसदमा प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन्।
प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले यसअघि नै रुलिङ गरेका थिए।
प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर सरकार गठन भएको पाँच महिना बितिसक्दा पनि प्रधानमन्त्री शाह नियमित रूपमा प्रश्नोत्तरका लागि सदनमा उपस्थित भएका छैनन्।
यसअघि जेठमा एकपटक सदनमा उपस्थित भएका प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको आफूले सुनेको भन्दै दिएको अभिव्यक्ति विवादमा परेको थियो।
आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्न ११ जना सांसदले संसद् सचिवालयमा प्रश्न दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका समिक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णकुमार बुढाथोकी, नेपाली कांग्रेसका बासना थापा र गीता गुरुङ, नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुुस्बु ओली तथा नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठकुन्नाले प्रश्न दर्ता गराएका छन्।
सरकार गठनपछि पहिलोपटक नियमित रूपमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ।
सांसदहरूले सरकारका कामकारबाही, पछिल्ला गतिविधि तथा जनसरोकारका विषयमा प्रश्न उठाउने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






